काठमाडौं । दशैंपछि पहिलोपटक हरियो बनेको सेयर बजार बिहीबार सुरुवातमै उचालिए पनि अन्त्यतिर खुम्चिएको छ। कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशतले बढ्दै २६७५ विन्दुमा पुगेको थियो।
नेप्सेले ४ प्रतिशत वृद्धि गरेपछि बजारमा पोजिटिभ सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। तर, कारोबार पुनः खुलेपछि बजारमा क्रमशः नाफा समात्ने लगानीकर्ताको गतिविधि बढेपछि सूचक क्रमशः झर्न थालेको हो।
अन्ततः बजार बन्द हुँदा नेप्से सूचक २२.५९ अंकले मात्र बढ्दै २५८२.१८ विन्दुमा अडिएको छ। यस दिन कुल ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७६ करोडको तुलनामा कम हो।
विश्लेषकहरूका अनुसार आजको बजारको प्रारम्भिक उचालमा नेपाल राष्ट्र बैंकको नीतिगत निर्णयले ठूलो भूमिका खेलेको हो। बुधबार मात्र राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाउने र लक–इन अवधि घटाउने निर्णय गरेपछि बजारमा सकारात्मक प्रभाव परेको थियो।
तर, धेरै लगानीकर्ताले छोटो समयमै नाफा सुरक्षित गर्न सेयर बिक्री गरेपछि बजारको उचाल दिनको अन्त्यसम्म खुम्चिएको हो।
बजारले आज दोहोरो अंकले वृद्धि कायम गरे पनि विश्लेषकहरूले यो स्थिर सुधार नभएर ‘प्रतिक्रिया–आधारित सुधार’ भएको बताएका छन्।

