काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै प्रहरीमा फिर्ता पठाएको छ ।
आयोगले जाहेरी फिर्ता पठाएसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गर्ने बाटो खुलेको छ । ओली र लेखकविरूद्ध जेन जी आन्दोलनका शहीद परिवारले जिल्ला प्रहरी परिसर काठमाडौंमा सोमबार किटानी जाहेरी दिएका थिए ।
जेन जी प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय क्षतिको विषयलाई लिएर आन्दोलनमा मृत्यु भएका रसिक खतिवडाका बुबा पुरूषोत्तम खतिवडा लगाएत अन्य ४ जनाले जिल्ला प्रहरी परिसर काठमाडौंमा सोमबार किटानी जाहेरी दिएका थिए ।
प्रहरीले उक्त जाहेरीलाई आयोगमा पठाएको थियो । आयोगको आज बसेको बैठकले यो विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै परिसरमै फिर्ता पठाएको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसनधान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराका्े आयोगको मिति २०८२ असोज २१ को प्रेस विज्ञप्तीको प्रतिलिपिका साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
जेन जी आन्दोलनका क्रममा भएको हिंसामा ओली र लेखक दोषी रहेको र उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै जेन जी आन्दोलनका अगुवाबाट सरकारमाथि दबाब बढिरहेको छ । उनीहरूले सामाजिक सञ्जालमा अभियानसमेत चलाएका थिए । अन्तरिम सरकारकी प्रमुख सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल ओली र लेखकलाई पक्राउ गर्नुपर्ने पक्षमा भए पनि प्रहरीले नमानेको विषय सार्वजनिक भएको थियो ।

