काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। ओमानको क्रिकेट ग्राउण्डमा साँझ ८ः४५ बजे सुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकपको सम्भावनालाई अझ बलियो बनाउने लक्ष्यमा छ।
आइतबार सम्पन्न सुपरसिक्सको पहिलो खेलमा नेपालले यूएईलाई रोमाञ्चक एक रनले हराउँदै प्रतियोगितामा बलियो स्थितिमा उभिएको छ। त्यसैबीच, पहिलो खेलमा ओमानसँग हार बेहोरेको कतारको भने विश्वकप सम्भावना कमजोर हुँदै गएको छ।
नेपालले आफ्नो समूहका सबै खेलमा जित हात पार्दै समूह विजेता बनेको थियो भने कतार युएई रहेको समूहको उपविजेता बनेर सुपरसिक्समा पुगेको हो। हाल सुपरसिक्समा नेपालको ४ अंक रहेको छ भने कतार अंकविहीन छ।
यसअघि आजै ओमान र यूएईबीच अर्को महत्त्वपूर्ण खेल हुनेछ। नेपालले अब बाँकी दुई खेल बुधबार ओमानसँग र शुक्रबार सामोआसँग खेल्नेछ। सुपरसिक्स चरणपछि शीर्ष तीन टोलीहरूले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

