२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • जेन–जी समूहलाई सित्तैँमा भोटेकोशी जलविद्युत् आयोजनाको...

जेन–जी समूहलाई सित्तैँमा भोटेकोशी जलविद्युत् आयोजनाको शेयर, यस्तो छ सम्झौता

जेन–जी समूहलाई सित्तैँमा भोटेकोशी जलविद्युत् आयोजनाको शेयर, यस्तो छ सम्झौता

सोमवार, आश्विन २७ २०८२०१:०३
सोमवार, आश्विन २७ २०८२०१:०३
  • images

    काठमाडौं । सिन्धुपाल्चोकको जेन–जी समूहले ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैँमा पाएका छन् । स्थानीय जेन–जी समूह एक महिनादेखि आन्दोलनमा उत्रिएपछि आयोजनाले ‘जेन–जी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड’लाई नि:शुल्क १० प्रतिशत शेयर दिने सम्झौता गरेको हो । सम्झौतामा जेन–जी समूहका प्रतिनिधि पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पालगायत र आयोजनाका तर्फबाट भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडका सचिव विश्वमोहन कर्माचार्यलगायतको हस्ताक्षर रहेको छ ।

    आयोजनाले ९ पुस २०७१ मा प्रभावित स्थानीयलाई ६ प्रतिशत शेयर दिने गरी सम्झौता गरेको थियो । तर, स्थानीयले शेयर पाएका थिएनन् । प्रभावित स्थानीयको प्रतिनिधत्व गरी जेन–जीले मुद्दालाई चर्काएर एक महिनादेखि काममा अवरोध गरेका थिए । निरन्तर काममा अवरोध भएपछि पावर कम्पनीले जेन–जीको मागअनुसार ६ प्रतिशतमा ४ प्रतिशत गरी १० प्रतिशत शेयर नि:शुल्क दिन तयार भएको हो ।

    सम्झौताका बुँदाहरू:

    १. भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष)ले आफ्‌नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो ।

    दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक मिति २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।

    २. दोस्रो पक्षको शेयरको अंकित मुल्य रु १००। रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने शेयर सम्बन्धमा प्रथम पक्षले कर्जाको लागी बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी दोस्रो पक्षले जमानीको व्यवस्था गर्ने एवम् सो कर्जा आगामी १ बर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधै सञ्चालन भएको अवस्थामा कर्जा तथा व्याज समेत चुक्ता हुने गरि दोस्रो पक्षले ब्यवस्था गर्ने सो लाभांशबाट फछ्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरियो ।

    पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको शेयरधनी बनाई सके पछि दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति गरियो ।

    ३. दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिदै आएको साविकको रकममा थप गरि बार्षिक रुपमा जम्मा रु २,५०,००,०००। (अक्षरेपी दुई करोड पचास लाख मात्र) दिने सहमती गरियो । अब उप्रान्त साबिकमा विभिन्न शीर्षकमा दिदै आएको रकम प्रथम पक्ष लगाएत कसैले पनि दाबी नगर्ने सहमति समेत गरियो ।

    ४. दोस्रो पक्षको आयोजनामा बिभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानको लागी प्रथम पक्षको समेत पूर्ण साथ र सहयोग रहने सहमति -गरियो ।

    ५ आयोजनाको पावर प्लान्ट आजैका मितिबाट सञ्चालन गर्ने सहमति गरियो । स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाका कर्मचारीहरुको सुरक्षा समेत गरि शान्तिपुर्वक सञ्चालन गर्ने जिम्मेवारी प्रथम पक्षले लिने सहमति गरियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend