काठमाडौँ। अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना जेनजी पुस्ताद्वारा सुरु गरिएको जनआन्दोलन चर्किएपछि आइतबार राति देश छाडेर भागेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आन्दोलनमा सेनाको एक विशेष इकाइले समेत साथ दिएपछि उनी फ्रान्सेली सैन्य विमान चढेर देश छाड्न बाध्य भएका हुन्।
स्रोतका अनुसार राजोएलिनाले राजधानी अन्तानानारिभो नजिकैको सन्त मारी विमानस्थलबाट फ्रान्सेली हेलिकोप्टरमार्फत विमान चढेका थिए। रोयटर्सका अनुसार उक्त विमानस्थलमा फ्रान्सको सैन्य विमान अवतरण भएको केही मिनेटमै उनलाई विमानमा चढाइएको थियो।
राजोएलिनाले देश छाडेको पुष्टि सोमबार मात्रै भएको हो। उनले फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो सुरक्षाका कारण ‘सुरक्षित स्थान’ गएका बताएका छन्। तर उनले आफू कुन देशमा छन् भन्ने खुलाएका छैनन्।
जेनजी आन्दोलनको क्रममा सेनाको विशेष इकाई CAPSAT ले आन्दोलनकारीको पक्षमा उभिँदै ‘प्रदर्शनकारीमाथि गोली नचलाउने’ घोषणा गरेको थियो। त्यसपछि अर्धसैनिक बल ‘गजेन्डर्मी’ का केही समूहले पनि विद्रोह गर्दै आन्दोलनलाई समर्थन जनाएका थिए। सन् २००९ मा सत्ता कब्जा गर्न CAPSAT कै साथ पाएका राजोएलिना अहिले त्यही इकाइको समर्थन गुमाउँदा सत्ता र देश नै छाड्न बाध्य भएका हुन्।
संविधान अनुसार राष्ट्रपतिको पद रिक्त हुँदा सिनेट अध्यक्ष कार्यवाहक राष्ट्रपति बन्ने व्यवस्था छ। राजोएलिनाले देश छाडेपछि पूर्व सिनेट अध्यक्षलाई हटाएर जिन आन्द्रे न्द्रेमान्जारी नयाँ कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गरिएको छ।
राजधानी अन्तानानारिभोमा सोमबार हजारौं नागरिक भेला भएर राजोएलिनाको राजीनामा माग्दै प्रदर्शन गरेका थिए। '१६ वर्षसम्म उनीहरूले केही गरेनन्। हामी गरिब रह्यौं, उनीहरू धनी बने,' आन्दोलनमा सहभागी २२ वर्षीय युवकले रोयटर्ससँग भने।
संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ देखि सुरु भएको आन्दोलनमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ। ३ करोड जनसंख्या भएको माडागास्करमा झन्डै ७५% जनता गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन्।
देश छाड्नुअघि राजोएलिनाले दुई जना फ्रान्सेली नागरिकलाई क्षमादान दिएका थिए। ती दुवैलाई सन् २०२१ मा भएको असफल ‘कू’ को अभियोगमा दोषी ठहर गरिएको थियो।
रोयटर्सका अनुसार माडागास्करमा भएको आन्दोलन नेपाल र मोरोक्कोमा भएका जेनजी आन्दोलनसँग मिल्दोजुल्दो छ। आन्दोलनकै कारण सरकार ढल्नु माडागास्कर दोस्रो देश बनेको छ।

