काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गर्दै जेनजी आन्दोलनमा घाइते र मृतकका परिवारलाई सहयोग गर्न सक्ने व्यवस्था गरेको छ।
संशोधित मार्गदर्शन अनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम जेनजी आन्दोलनका घाइते तथा शहीदका परिवारको सहयोगमा प्रयोग गर्न सक्ने भएका छन्।
यो व्यवस्था सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार विकास बैंकहरूमा लागू हुने राष्ट्र बैंकले जनाएको छ। संशोधन अनुसार, जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि आवश्यक रकम सो अस्पताललाई सीएसआरमार्फत उपलब्ध गराउन सकिने छ। तर, सो रकम दोहोरो नपर्ने गरी मात्र वितरण गर्न सकिने प्रावधान राखिएको छ।
त्यस्तै, आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारमा आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिममा सहयोग गर्न सकिने छ।
यसका लागि नेपाल सरकार वा सरकारले स्वीकृति प्रदान गरेका सीपमूलक तालिम संस्था मार्फत तालिम प्राप्त गरेका व्यक्तिको हकमा ती संस्थालाई बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम उपलब्ध गराउन सक्नेछन्।

