काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले प्रतिक्रान्तितर्फ धकेलिएको दाबी गरेका छन्।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अप्रत्याशित रूपमा देशमा प्रतिक्रान्तिको घटना घटेको बताउँदै भने, “यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ, अर्थात् बर्बादीतर्फ धकेलिएको छ।”
अध्यक्ष ओलीले नेकपा (एमाले) राम्रो काम गरेको कारण नै राजनीतिक रूपमा सबैभन्दा बढी निशानामा परेको दाबी गरे। उनले भने, “हामी प्रहारको अरूभन्दा बढी निशानामा परेका छौं। किन भने, हामीले नराम्रो काम गरेका छैनौं, हाम्रो नीति देश विरोधी छैन। हाम्रा नीतिहरू राम्रो भएकै कारण हामीमाथि प्रहार भइरहेको छ।”
उनका अनुसार, एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न शक्तिहरू सक्रिय भएका छन्, तर पार्टीले देशको स्वाभिमान र स्थायित्वका लागि आफ्नो भूमिकाबाट पछि नहट्ने स्पष्ट सन्देश उनले दिएका छन्।
जेनजी विद्रोहपछि अध्यक्ष ओली सत्ताच्युत भएपछि पहिलो पटक नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको छ।

