काठमाडौं । नेपालले सामोआलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक (ईएपी) छनोटको उपाधि उचालेको छ।
पहिले नै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै अपराजित रूपमा उपाधि हात पारेको हो।
नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआ २० ओभरमा सात विकेट गुमाउँदै ८७ रनमै सीमित रह्यो। सामोआका सियन सोलियाले सर्वाधिक ४० रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन्।
नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा देखिए — ललित राजवंशीले ३ विकेट लिँदै आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चे। त्यस्तै करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार पारेको थियो।
नेपालका ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको योगदान दिए।
दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे।
त्यसैगरी लोकेश बमले ३९ रन, कप्तान रोहित पौडेलले अविजित २१ रन र कुशल भुर्तेलले १७ रन बनाए।
यस जितसँगै नेपालले सुपर सिक्सका पाँचै खेल जित्दै १० अंकका साथ शीर्ष स्थान हासिल गरेको छ।
ओमान ८ अंकसहित दोस्रो र युएई ६ अंकसहित तेस्रो स्थानमा रहँदा यी तीन टोलीले भारत–श्रीलङ्कामा हुने आगामी टी–२० विश्वकपको टिकट पक्का गरेका छन्।
कतार, जापान र सामोआ भने छनोट चरणमै बाहिरिएका छन्। सामोआ सुपर सिक्सका सबै खेलमा पराजित हुने एक्लो टोली बन्यो।

