कञ्चनपुर । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका युवा विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं शोकाकुल सर्वसाधारणको सहभागितामा सम्पन्न भएको छ।
विपिनको अन्त्येष्टि भीमदत्त नगरपालिका–३ भुजेलाघाटस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ गरिएको हो। शवयात्रामा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षाकर्मी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उनको शव सोमबार काठमाडौं ल्याइएपछि नेपाली सेनाले धनगढी विमानस्थलसम्म पुर्याएको र त्यहाँबाट राति नै भीमदत्त–३ स्थित घरमा लगिएको थियो।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी भएका थिए। विपिनको सम्मानमा सशस्त्र प्रहरीले औपचारिक सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहरले जानकारी दिए।

