काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुनुअघि १० दल र घोषणा पछि पाँच दलले दर्ताका लागि निवेदन दिएका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, धरान उपमहानगर प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी, दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी र हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले निवेदन दिएका छन्।
दल दर्ताका लागि आयोगले विधान, नियमावली, घोषणापत्र, चुनाव चिन्ह, झण्डा, लोगो, केन्द्रीय समितिका पदाधिकारी विवरण, आय स्रोतको विवरण लगायतका कागजात पूरा हुनुपर्ने जनाएको छ। आयोगले कागजात पुगेकाको हकमा ४५ दिनभित्र निर्णय दिने गरेको छ।
निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते दल दर्ताको सूचना प्रकाशन गर्ने र मंसिर १–१० गतेसम्म दल दर्ताका लागि आवेदन दिन सकिने व्यवस्था गर्नेछ। यसरी दर्ता भएका दल मात्र समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिन पाउने छन्।
निर्वाचनको वातावरण सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलसँग छलफल गरिसकेकी छन्। प्रमुख दलहरूले निर्वाचन सुरक्षाको वातावरण, न्यायिक प्रक्रियाको सुनिश्चितता र सरकार–दलबीच संवादको अवस्था कायम गर्न आग्रह गरेका छन्।
गत भदौ २७ गते जेनजी आन्दोलनपछि गठन भएको सरकारले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरेको थियो। यसैबीच, नेकपा (माओवादी केन्द्र) निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापनामा प्राथमिकता दिइरहेको छ। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अर्को साता बस्ने तय भएको छ।

