काठमाडौं । सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले थ्री नेसन्स महिला फुटबल प्रतियोगितामा भारतलाई २–१ ले पराजित गरेको छ। सोमबार सिलङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै प्रतियोगिता सुखद रूपमा टुंग्यायो।
पहिलो हाफको दोस्रो मिनेटमै सावित्राले विमला विकको पासमा गोल गर्दै अग्रता दिलाइन्। दोस्रो हाफको ६२औं मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल गरिन्। भारतका करिश्मा पुरुषोत्तमले ८२औं मिनेटमा एक गोल फर्काइन् तर बराबरी गर्न सकेनन्।
यसअघि इरानले दुवै टोलीलाई हराउँदै उपाधि जितिसकेको थियो। नेपालले दुई खेलमा तीन अंक जोड्दै प्रतियोगिता सकारात्मक रूपमा समाप्त गर्यो। सावित्राको यो उनको ५९औं खेलमा ६८औं अन्तर्राष्ट्रिय गोल हो।

