२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एनसेलले १० दिनमा नै ल्यायो २०...

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

बुधवार, कार्तिक १२ २०८२०५:१०
बुधवार, कार्तिक १२ २०८२०५:१०
  • images

    काठमाडौं। एनसेलले पछिल्ला १० दिनभित्र देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आफ्नो फोरजी नेटवर्क विस्तारलाई तिब्रता दिएको छ। कम्पनीका अनुसार, यी नयाँ टावर सञ्चालनमा आएपछि ती क्षेत्रका ग्राहकहरूले अझ गुणस्तरीय भ्वाइस र तीव्र गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।

    एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावर जडान गरेको हो। मधेस प्रदेशमा मात्रै १३ वटा टावर सञ्चालनमा ल्याइएको छ, जसमा बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायण सामेल छन्।

    त्यस्तै, कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार, मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ टावर सञ्चालनमा आएका छन्। बागमती प्रदेशको मकवानपुर हेटौंडा–९ मा एक नयाँ टावर जडान गरिएको छ।

    एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार कम्पनीले नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने लक्ष्य अनुरूप नेटवर्क सुदृढीकरणलाई निरन्तर अघि बढाइरहेको छ। उनले भने, “१० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै हामीले आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेका छौं। आगामी दुई दिनभित्र थप १० नयाँ टावर सञ्चालनमा ल्याउने तयारी पनि भइसकेको छ।”

    उपकरण आयातमा बन्देजका बीचमा पनि एनसेलले आफ्ना पुराना उपकरण प्रयोग गरी यो वर्ष मात्रै ४० भन्दा बढी नयाँ टावर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। अबको दुई महिनाभित्र सबै प्रदेशमा १७० भन्दा बढी नयाँ टावर जडान गर्ने लक्ष्यसहित एनसेलले सेवा सुधार अभियानलाई अघि बढाएको छ। जेठ २०७४ मा फोरजी सेवा सुरु गरेको एनसेलले हालसम्म यो सेवा देशका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend