काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियाको बुसानमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। लामो समयदेखि चर्किरहेको अमेरिकी–चीन व्यापार युद्धको अन्त्य गर्ने सम्भावनासहित दुवै नेताबीचको यो भेटलाई विश्वले नजिकबाट हेरिरहेको छ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्प र सीबीचको भेट स्थानीय समय अनुसार बिहान ११ बजे सुरु हुनेछ। यता, चिनियाँ विदेश मन्त्रालयले पनि भेटको समय र स्थान पुष्टि गर्दै, वार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र क्षेत्रीय आर्थिक स्थायित्वका विषयमा छलफल हुने जनाएको छ।
दुवै नेताबीचको भेटअघि मलेसियामा भएका उच्चस्तरीय वार्ताले व्यापार सम्झौताको प्रारम्भिक ढाँचा तयार गरेको बताइएको छ। यो भेटलाई त्यस समझदारीलाई ठोस रुप दिने अवसरको रूपमा हेरिएको छ।
ट्रम्प र सीले दक्षिण कोरियाको ग्यांग्झूमा आयोजना हुन लागेको एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन ९एपेक० शिखर सम्मेलनमा पनि संयुक्त रूपमा सहभागिता जनाउनेछन्। सम्मेलनअघि नै हुने यो द्विपक्षीय भेटवार्ता व्यापार विवाद समाधानका लागि निर्णायक हुने अपेक्षा गरिएको छ।
अमेरिकी समाचार संस्था रोयटर्सका अनुसार, भेटअघि नै चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ। यो चीनले यस वर्ष अमेरिकी कृषि उपज खरिद गरेको पहिलो अवसर हो, जसलाई सम्बन्ध सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
गत वर्षदेखि जारी व्यापारिक शुल्क विवादका कारण दुई देशबीचको व्यापार असन्तुलन बढ्दै गएको र अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइँदै आएको छ।

