काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको बक्यौता महसुल नतिरेको भन्दै उद्योगहरूका लाइन काटेको विरोधमा आयोजित कार्यक्रममा बोल्दै गर्दा मजदुर नेता कमल गौतमको निधन भएको छ।
नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य रहेका गौतम भैरहवास्थित विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध कार्यक्रममा भाषणका क्रममा बेहोस भएर ढलेका थिए।
६५ वर्षीय गौतमलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका हुन्।
गौतम बुटवलका स्थायी बासिन्दा हुन्। विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको बक्यौता महसुल नतिरेका भन्दै बुटवल–भैरहवा करिडोरका १० उद्योगको लाइन काटेको थियो। सोही कदमको विरोधमा उद्योगी र मजदुरहरूले बिहीबार भैरहवामा प्रदर्शन गरेका थिए।
उद्योगी र मजदुरबीच बढ्दो असन्तुष्टि बीच भाषणका क्रममा ढलेका गौतमको निधनले मजदुर आन्दोलन र औद्योगिक क्षेत्र दुबैमा शोकको लहर फैलिएको छ।

