काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिनको अल्टिमेटम जारी गरेका छन्।
गत असोज २ गते बसेको दुवै निकायको संयुक्त बैठकले काठमाडौं महानगरपालिका क्षेत्र र त्यससँग जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानहरूमा भएका अवैध संरचनाहरू खाली गराउन निर्देशन दिने निर्णय गरेको थियो।
सार्वजनिक जग्गा अतिक्रमण र मापदण्ड विपरीतको निर्माणलाई नियन्त्रण गर्न जारी सूचनामा भनिएको छ, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने व्यवस्था भए पनि सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण, विकास तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो। त्यसैले ऐन विपरीत बनेका संरचनाहरू ७ दिनभित्र हटाई सहयोग गर्न अनुरोध गरिन्छ।”
महानगर र प्राधिकरणले तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाए कानूनी कारबाही अघि बढाइने चेतावनी पनि दिएका छन्।

