काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका बक्यौता असुलीको विषयमा अहिले पनि आफूमाथि विभिन्न प्रकारका दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै मन्त्री घिसिङले महसुल उठाउने काममा आफू दृढ र निष्ठाका साथ उभिएको स्पष्ट पारेका छन् । उनका अनुसार केही बक्यौता नतिर्ने ग्राहकहरूको समर्थनमा सञ्चारमाध्यम, सामाजिक सञ्जाल र श्रमिकमार्फत भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ ।
‘म यस्ता गतिविधिप्रति सचेत र सतर्क छु,’ उनले लेखेका छन् । साथै उनले अन्याय भएको महसुस हुनेहरूले न्यायिक निकायमार्फत हक खोज्न उद्योगीहरूलाई सुझाव दिएका छन् ।
मन्त्री घिसिङका अनुसार बक्यौता असुली कुनै व्यक्तिगत अहंकार नभई कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताका लागि गरिएको इमानदार प्रयास हो ।
उनले विगतमा पनि चार पटकसम्म बक्यौता असुलीको प्रयास गर्दा राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भएको स्मरण गराए । “२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गरेको थिएँ, त्यसै दिन मलाई पदबाट हटाइयो,” उनले लेखेका छन् ।
मन्त्री घिसिङले थपे, “बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बनेको थियो।”
उनले अन्त्यमा भनेका छन्, “संस्थागत इमान, कानुनी पालना र पारदर्शिताको पक्षमा म अडिग छु, कुनै पनि दबाबले मेरो दायित्वबाट विचलित हुन सक्दैन।”

