काठमाडौं । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मूर्ति सोमबार पाशुपत क्षेत्रमा नवनिर्मित मन्दिरमा पुनःस्थापना गरिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा मूर्तिको संरक्षण र मन्दिर निर्माण सम्पन्न गरिएको हो।
उक्त मूर्ति विगत ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा सुरक्षित राखिएको थियो। पञ्चाङ्ग निर्णायक समितिले तोकेको समयअनुसार सोमबार बिहान बाजागाजासहित र थारोहण गरी मूर्तिलाई प्रहरी वृत्तबाट मन्दिरमा लगिएको थियो।
वडा अध्यक्ष आशामान संगतले भने, “मूर्तिलाई भेट्टाएर सुरक्षित राखिएको थियो। मन्दिर निर्माणपछि पुनःस्थापना गरिएको हो। मन्दिरको औपचारिक उद्घाटन कार्तिक २१ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ र सर्वसाधारणका लागि पनि त्यही दिनदेखि पूजाआजा खुला हुनेछ।”
वडा अध्यक्ष संगतका अनुसार, ब्रह्माको मूर्ति नेपालमा यही एकमात्र रहेको छ। साथै, विष्णुको मूर्तिलाई पनि पुनर्निर्माण गर्न वडा कार्यलयले काम गरिरहेको छ, यद्यपि पुरातत्त्व विभागका कारण केही ढिला भएको छ।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको मन्दिर १९९० सालको भूकम्पअघि भत्केको थियो। मूर्ति भत्केपछि हराएको थियो र धोबीखोलामा भेट्टाएर गौशाला प्रहरी वृत्तमा राखिएको थियो।
पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडाध्यक्ष सङ्गत, वडा सदस्य, सम्पदाविद्, संस्कृतिविद् र स्थानीयको उपस्थिती रहेको थियो।

