काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले)का सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णयविरुद्ध सात दलले सामूहिक रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।
बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीसमेतका शीर्ष एवं संसदीय दल नेताहरूको बैठकले ७४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित रिट निवेदन दिन निर्णय गरेको हो। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार मुख्यमन्त्री नियुक्ति बहुमतको दाबी र संविधानको धारा १६८(२) को व्यवस्था विपरीत भएको आरोप लगाउँदै कानुनी उपचार खोजिनेछ।
यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि सात दलले संविधानअनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गरेका थिए। तर प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरूले विरोध जनाएका हुन्।
मुख्यमन्त्री नियुक्तिको विरोधस्वरूप सात दलका सांसद तथा कार्यकर्ताले आज मधेश भवनको गेटमा प्रदर्शन गर्दै प्रदेश प्रमुखको कार्यालयमा तोडफोडसमेत गरेको छ। उनीहरूले मुख्यमन्त्री कार्यालयमा ताला लगाई कर्मचारीलाई बाहिर निकालेर कार्य अवरुद्ध गरेका छन्।

