काठमाडौं । जेन–जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। मुभमेन्टले घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको संलग्नतामा भएको राष्ट्रघाती विद्युत खरिद सम्झौता गैरकानूनी भएको दाबी गरेको छ।
नेपालका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि घिसिङ र सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने गरी विद्युत खरिद सम्झौता गरिएको हो। विज्ञप्तिमा भनिएको छ, “यो सम्झौता विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको र यसले भ्रष्टाचार तथा राष्ट्रिय स्वार्थको विक्री गरेको स्पष्ट प्रमाणित भएको छ।”
जेन–जी मुभमेन्टले आफ्ना मागहरू राख्दै भनेको छ:
उर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्ने।
प्राधिकरणका प्रवन्ध निर्देशक सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्ने।
विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत सम्झौता सार्वजनिक गर्नुपर्ने।
त्यसैगरी, मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गर्ने कानुनी प्रक्रिया तुरुन्त शुरु गर्न पनि माग गरेको छ।

