काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग जोडिएको ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा अद्यावधिक भएको छ। लामो समयदेखि निष्क्रिय रहेको यो दललाई घिसिङ नजिकका व्यक्तिहरूमार्फत पुनः सक्रिय बनाइएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार उज्यालो नेपाल पार्टीको कार्यसमितिमा संशोधन गरी नयाँ नेतृत्व संरचना दर्ता गराइएको छ। यसअघि संयोजक रहेकै ज्ञानबहादुर तामाङको स्थानमा पूर्व ऊर्जा सचिव तथा इञ्जिनियर अनुपकुमार उपाध्यायलाई पार्टीको संयोजक बनाइएको छ। उपाध्यायलाई अगाडि ल्याउन मन्त्री घिसिङको पहल रहेको बताइन्छ।
पार्टीले अहिले ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। समितिमा पूर्व संयोजक तामाङसहित विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक र शिक्षित पृष्ठभूमिका व्यक्तिहरूको समावेश भएको छ।
सदस्यमा सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी र केही वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडिएका सागर ढकाल पनि रहेका छन्।
यसअघि साउन महिनामा यो दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढाइएको थियो। उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘चिम’ तोकिएको छ।

