काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले आगामी मंसिर ६ गते शनिबार दोस्रो संस्करणको उक्त रोग सेस कार्यक्रम आयोजना गर्न लागेको हो ।
विकास बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ ।
करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही ५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले .३५ हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार, चौथो स्थान हासिल गर्नेले १५ हजार र पाँचौ स्थान हासिल गर्नेले.१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार, तृतीय हुनेले १४ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले.७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बालुवाटार, काठमाण्डौ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नु हुनेछ । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ । गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।

