काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच जना सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार आदेश जारी गर्दै सभामुख रामचन्द्र मण्डलले गरेको पदमुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो।
मधेस प्रदेशका सभामुख मण्डलले कात्तिक २७ गते जसपा नेपालका चार र नागरिक उन्मुक्ति पार्टीकी एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए। पदमुक्त गरिएका सांसदहरूमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर तथा नागरिक उन्मुक्तिका उर्मिला सिंह रहेका छन्।
सभामुखको निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सांसदहरूको पद तत्काल कायम राख्न निर्देशन दिएको हो।
यससँगै पाँचै जना सांसदहरूकाे सदस्यता सम्बन्धी अन्तिम निर्णय अदालतको फैसलासँगै टुंगिने भएको छ।

