२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पोखरा– विराटनगर र कर्णाली–चितवन आज...

पोखरा– विराटनगर र कर्णाली–चितवन आज भिड्दै

पोखरा– विराटनगर र कर्णाली–चितवन आज भिड्दै

मंगलवार, मंसिर २ २०८२११:१७
मंगलवार, मंसिर २ २०८२११:१७
  • images

    काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज दोस्रो दिनका दुई रोमाञ्चक खेल हुँदैछन्। अक्सनमा सबैभन्दा महँगो मानिएको पोखरा एभेन्जर्सले सर्वाधिक चर्चित टोली विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ भने अक्सनको सबैभन्दा सस्तो टोली कर्णाली याक्सले आजै चितवन राइनोजसँग भिड्दैछ।

    पहिलो संस्करणमा निराशाजनक प्रदर्शन गरेको पोखरा एभेन्जर्स यसपटक भने पूरै नयाँ रूपमै देखिएको छ। गत सिजन ७ मध्ये २ खेल मात्र जितेको पोखराले यसपटक विदेशी स्टार जिम्मी निसमसहित आकर्षक लोगो र थीम परिवर्तनमा समेत ठूलो लगानी गरेको छ। यिनै परिवर्तनका कारण पोखरालाई यो वर्ष ‘हेर्नैपर्ने’ टोलीको रूपमा लिइएको छ।

    पोखरा आज आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग भिड्दैछ। गत सिजन यी दुईबीच भएको रोमाञ्चक सुपर ओभरमा पोखराले विजय निकालेको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतिस्पर्धात्मक र महत्त्वपूर्ण मानिएको छ।

    त्यस्तै, यो सिजनमा सर्वाधिक चर्चा बटुलेको विराटनगर किङ्स पनि बलियो रूपमा प्रस्तुत हुँदैछ। दक्षिण अफ्रिकाका स्टार फाफ डु प्लेसिस र न्युजिल्यान्डका मार्टिन गप्टिललाई अनुबन्ध गर्दै विराटनगरले बलियो स्क्वाड तयार गरेको हो। मुख्य प्रशिक्षकमा पुबुदु दासानायके र कप्तानमा सन्दीप लामिछाने रहेकाले टोली थप सम्भावनायुक्त देखिन्छ।

    यद्यपि, डु प्लेसिस भने आजको खेलमा उपस्थित नहुने भएका छन्। पोखरा–विराटनगर भिडन्त आज साँझ ४:१५ बजे शुरु हुनेछ।

    दोस्रो खेलमा अक्सनकै सस्तो टोली कर्णाली याक्सले चितवन राइनोजसँग भिड्नेछ। गत सिजनको इलिमिनेटरमा कर्णालीसँग पराजित भएर बाहिरिएको चितवनले आजको खेललाई बदला लिनुपर्ने अवसरका रूपमा हेरिरहेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन सहज जीतसहित प्रतियोगितामा बलियो सुरुवात गर्ने योजनामा छ।

    उता, कर्णाली याक्स यसपटक नयाँ लयमा देखिन चाहन्छ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली गत सिजन क्वालिफायर २ मा जनकपुरसँग हारेपछि बाहिरिएको थियो। यसपटक भने टोलीले नयाँ ऊर्जा र रणनीतिसहित मैदान उत्रने तयारी गरेको छ।
    कर्णाली–चितवनको खेल बिहान ११:४५ बजे सुरु हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend