काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बाराको सिमरामामा उत्पन्न परिस्थितिमा सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रमका लागि सिमरा जाँदै गर्दा ‘जेन–जेड’ युवाहरूले विरोध गर्दै आन्दोलित भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो।
विमानस्थल नजिकै तोडफोडसम्म हुने अवस्था देखिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाए पनि बस्नेतले सामान्य घटनामा पनि नियन्त्रण गर्न नसकिएको भन्दै सरकारको नैतिकता नै कमजोर भएको आरोप लगाए।
बस्नेतले भने, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा सिमरा जान लाग्दा एयरपोर्ट अबरोध गरेर जान नदिने जेन–जेडको नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराइयो। त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य हो।’
उनका अनुसार सभा–सम्मेलन गर्ने, स्वतन्त्र विचार राख्ने छुट संविधानले दिएको मौलिक अधिकार हो । यस्ता गतिविधि नै रोकेर सरकारले फागुन २१ मा चुनाव गराउने दाबी गर्नु ‘हास्यास्पद’ भएको उनले टिप्पणी गरे।
बस्नेतले वर्तमान सरकारलाई ‘कठपुतली’ अभिव्यक्ति प्रयोग गर्दै लोकतन्त्र, विधिको शासन र सुशासनको खिल्ली उडाएको आरोप पनि लगाए।
‘नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्,’ उनले भने। अन्त्यमा उनले अवरोध र धम्कीले आफूहरू विचलित नहुने बताउँदै, लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा एमालेको संघर्ष निरन्तर जारी रहने स्पष्ट पारे।

