२०८३, आश्विन १९ गते

images

चितवनको दोस्रो जित

चितवनको दोस्रो जित

बुधवार, मंसिर १० २०८२०८:०९
बुधवार, मंसिर १० २०८२०८:०९
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । योसँगै प्रतियोगितामा विराटनगरको अपराजित यात्रामा ब्रेक लागेकोे छ ।

    चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि मर्चेन्ट डे लेंगेले सर्वाधिक ३९ रन बनाए । २२ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्को सहयोगमा ३० रन बनाए ।

    यस्तै साम हिजलेटले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे । विराटनगरका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजन एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।

    यस्तै कमल सिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले अर्धशतकीय इनिङ खेले । बोपराले ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६५ रन बनाए । यस्तै सैफ जेबले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । देव खनालले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए भने कप्तान कुशल मल्लले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डि लेंगेले समान दुई–दुई विकेट लिए भने शुभम रन्जनेले एक विकेट हात पारे । विराटनगरको पहिलो हारपछि ४ खेलबाट ६ अंक छ । चितवनले दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको छ ।

    एनपिएल अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend