काठमाण्डौ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीको नेतृत्व चुनावअघि निर्णय गर्न नसक्ने अवस्था प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। नेता देवराज चालिसेका अनुसार, डेढ महिनादेखि नेतृत्व र महाधिवेशन सम्बन्धी निर्णयमा अलमल भइरहेको छ।
चालिसेले पत्रकार सम्मेलनमा भने, “पार्टीको विधानभन्दा माथि कोही छैन। चुनावमा जाने नेतृत्वले कार्यकर्ताको मनोबल उकास्ने र पार्टीको संरचनागत सुधार गर्ने क्षमता हुनु अनिवार्य छ। दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म हुन नसक्ने नेतृत्व सक्षम होइन।”
उनले थपे, विशेष महाधिवेशन समयमै सम्पन्न नभए, पार्टी बलियो नेतृत्व र जनअपेक्षाअनुरूप नीति निर्माणमा प्रभाव पर्नेछ। त्यसैले हस्ताक्षरकर्तासम्बन्धी विषयमा छलफल गर्दै विशेष महाधिवेशन बोलाउन आवश्यक रहेको बताए।
नेता चालिसेले केन्द्रीय नेतृत्वले पार्टीको विधान पालना नगरेको आरोप पनि लगाएका छन्। यदि नियमित महाधिवेशन समयसीमाभित्र सम्पन्न भयो भने विशेष महाधिवेशनको निवेदन स्वतः निष्क्रिय हुनेछ, नभए यो सक्रिय रहने बताइएको छ।
विशेष महाधिवेशन पक्षधरहरूले बलियो नेतृत्व र पार्टी सुधारका लागि तत्काल कदम चाल्न जोड दिएका छन्।

