काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको छ। यस जितसँगै काठमाडौं प्लेअफ नजिक पुगेको छ भने कर्णालीको प्लेअफ यात्रा कठिन भएको छ।
काठमाडौंले ६ खेलमा ४ जित निकालेर ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब काठमाडौंसँग पोखरासँगको अन्तिम खेल मात्रै बाँकी छ। यदि काठमाडौं विजयी भयो भने प्लेअफ यात्रा पक्का हुनेछ, नत्र अन्य टिमको नतिजा अनुसार प्लेअफमा पुग्ने सम्भावना कायम रहनेछ।
कर्णालीले ५ खेलमा १ जित र ४ हारसँगै २ अंक बटुलेर छैटौं स्थानमा रहेको छ। कर्णालीसँग अझै दुई खेल बाँकी छन्। दुवै खेल जिते पनि प्लेअफको लागि अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ।
आइतबार कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंका लागि जेराड इरासमसले ३३ बलमा अविजित ४३ रन बनाए। जोन सिमसनले २१ बलमा ४१ रन र बेन चाल्र्सवर्थले ३४ रन बनाए। कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिए भने पवन सर्राफले एक विकेट लिए।
कर्णालीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। गुल्सन झाले सर्वाधिक ४९ रन जोडे। पवन सर्राफले ३५, मार्क वाटले ३० रनको योगदान दिए।
काठमाडौंका लागि रशिद खानले दुई विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक–एक विकेट लिए। एनपिएलअन्तर्गत सोमबार कुनै खेल हुने छैन। मंगलबार बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच खेल हुनेछ भने अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

