२०८३, आश्विन २० गते

images

गृहमन्त्री अर्यालद्वारा त्रिनगर–गौरीफन्टा नाका निरीक्षण

गृहमन्त्री अर्यालद्वारा त्रिनगर–गौरीफन्टा नाका निरीक्षण

सोमवार, मंसिर १५ २०८२०२:४४
सोमवार, मंसिर १५ २०८२०२:४४
  • images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाका निरीक्षण गरेका छन्। बिहान धनगढी पुगेका मन्त्री अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक (IGP) राजु अर्यालसँगै नाकाको सुरक्षा व्यवस्था र आवागमन अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेका हुन्।

    निरीक्षणका क्रममा मन्त्री अर्यालले नाकामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणसँग कुराकानी गर्दै आवागमन र सुरक्षा चुनौतीबारे जानकारी लिएका थिए। नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीहरूसँग समेत उनले भेटघाट गरी छोटो ‘फोटो सुट’ समेत गराएका थिए।

    नाकाको अवलोकनपछि मन्त्री अर्याल सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, त्रिनगर पुगे। त्यहाँ उनले सीमा सुरक्षामा कडाइ गर्न र नागरिक आवागमनलाई सहज बनाउन आवश्यक निर्देशन दिएका छन्। गृहपक्ष नेतृत्वको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पनि निरीक्षण गरेको छ।

    गृहमन्त्री अर्याल आजै कञ्चनपुरमा रहेका सीमा चौकी (BOP)हरूको निरीक्षण गर्न जाने कार्यक्रम छ। भोलि उनलाई सुदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने तयारी गरिएको छ।

    उक्त गोष्ठीका लागि सशस्त्र प्रहरीका IGP राजु अर्याल पहिले नै धनगढी पुगेका छन्। त्यस्तै, आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की धनगढी पुग्ने तालिका छ।

    भोलिको सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशबाट सुरक्षाको वस्तुगत अवस्था, समस्या र चुनौतीबारे प्रतिवेदन पेस गरिनेछ। साथै, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीबारे समेत विस्तृत छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend