काठमाडौँ । नेपाल राष्ट्र बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) को मस्यौदामा राय सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै रायसुझाव माग गरेको हो ।
वित्तीय क्षेत्रमा तीव्र गतिमा बढ्दै गएको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन–२०२५’ को मस्यौदा समेत सार्वजनिक गरेको छ । मौद्रिक नीतिको घोषणाअनुसार केन्द्रीय बैंकले गाइडलाइनको सो मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको हो ।
प्रस्तावित गाइडलाइनले बैंक तथा वित्तीय संस्थाले एआई प्रयोग गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने मापदण्ड तोकेको छ ।
एआईले कार्यक्षमता, जोखिम व्यवस्थापन र ग्राहक सेवामा अभूतपूर्व सुधार ल्याउने क्षमता बोके पनि यससँगै डेटा गोपनीयता, साइबर सुरक्षा र प्रणालीगत जोखिम जस्ता चुनौतीहरू पनि बढ्ने भएकाले स्पष्ट नीति आवश्यक परेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
मस्यौदामा नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिएका सबै संस्थामा गाइडलाइन लागू हुने उल्लेख गरिएको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, पूर्वाधार बैंक, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायकहरूमा पनि लागू हुनेछ ।

