काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहीबार अपराह्न ४ बजे सुरु हुनेछ। विजेता टोलीले उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगर दोस्रो क्वालिफायरमा धकेलिएको हो। लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई हराएर पहिलो क्वालिफायरको यात्रा तय गरेको विराटनगरले अब फाइनलमा पुग्न दोहोरो मौका उपयोग गर्ने लक्ष्य बनाएको छ।
विराटनगर उपाधिको बलियो दाबेदार मानिएको टोली हो। तर पहिलो क्वालिफायरमा देखिएको कमजोर प्रदर्शनलाई दोहोर्याउन नचाहने विराटनगर दोस्रो क्वालिफायरमा थप सावधानी र योजनासहित मैदान उत्रनेछ। टोलीले लिग चरणको अन्तिम खेलजस्तै उत्कृष्ट प्रदर्शन गर्न सके लुम्बिनीलाई रोक्न कठिन हुने अनुमान गरिएको छ।
उता, लुम्बिनी लायन्सले पछिल्ला खेलहरूमा दर्शनीय खेल प्रस्तुत गर्दै लय समातेको छ। एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको लुम्बिनीले लगातार चार खेलमा जित दर्ता गर्दै आत्मविश्वास उचालेको छ। गत सिजन अंक तालिकाको पुछारमा रहेर यात्रा समाप्त गरेको लुम्बिनीले यस सिजन उल्लेखनीय पुनरागमन गरेको छ।
पहिलो खेलमा जितपछि तीन खेलमा हार ब्यहोरेको लुम्बिनीले त्यसपछिका चार खेलमा लगातार जित निकाल्दै फाइनल नजिक पुगेको छ।

