२०८३, मंसिर ७ गते

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

images
सीएनएन खबर
आइतवार, मंसिर ६ २०८३०७:२६
सीएनएन खबर
आइतवार, मंसिर ६ २०८३०७:२६
  • images

    काठमाडौँ । सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमा पूरा गर्‍यो। यससँगै लगातार तीन सिजन फाइनल खेलेको सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि आफ्नो नाममा लेखाएको हो।

    सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक शतकीय पारी खेले। उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए। मुन्सेको यो पारी जारी एनपीएलकै सर्वाधिक व्यक्तिगत स्कोर हो।

    अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए। पहिलो विकेटका लागि मुन्से र भण्डारीले १५८ रनको अविजित साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जित दिलाए।

    मुन्सेले ४९ बलमा शतक पूरा गरेका थिए। उनी जारी प्रतियोगितामा शतक बनाउने तेस्रो खेलाडी बने। यसअघि चितवन राइनोजका कमिल मिसारा र पोखरा एभेन्जर्सका युवराज साम्राले शतक बनाएका थिए। समग्रमा एनपीएलमा यो छैटौँ शतक हो।

    लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पाँच विकेट र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग छ विकेटको हार व्यहोरेको थियो। यसपटक लिग चरण र प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा शानदार जित निकाल्दै ती हारको बदला लिएको छ।

    उता, लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्दै एनपीएलमा इतिहास रच्ने अवसरबाट चुकेको छ।

    लुम्बिनीले बनायो १५५ रन

    टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

    लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा दुई चौकासहित ३० रन बनाए। उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३०, तेस्रो विकेटका लागि निरोशन डिकवेलासँग ३९ र चौथो विकेटका लागि दिलिप नाथसँग ३४ रनको साझेदारी गरे।

    ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रन बनाए। निरोशन डिकवेलाले २८ रनको योगदान दिए। दुवैलाई सुदूरपश्चिमका बलरले बोल्डआउट गरेका थिए।

    सन्दीप जोरा चार र आशिफ शेख एक रनमा आउट भए। छैटौँ विकेटका लागि दिलिप नाथ र अली शेखले ३३ रनको अविजित साझेदारी गरे।

    अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए। दिलिप नाथ ३९ रनमा अविजित रहे। उनले ३१ बलमा तीन छक्का प्रहार गरे। रुवेन ट्रम्पलमेन चार रनमा नटआउट रहे।

    सुदूरपश्चिमका लागि स्कट कुल्गेजिनले दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend