काठमाडौं । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आइपीओ (सार्वजनिक निष्कासन) प्रक्रिया सुरु गरेको छ।
बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो। नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको थियो।
जारी हुने शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत कर्मचारीका लागि, र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा, र मेरो शेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ। आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ।
पहिलो चरणपछि, बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ।

