काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले मापदण्ड विपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि कांग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।
‘तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ ।
कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो ।
अघिल्लो परिपत्रमा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो ।

