२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन...

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

शुक्रवार, मंसिर २६ २०८२०२:२८
शुक्रवार, मंसिर २६ २०८२०२:२८
  • images

    काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

    सबै निर्वाचन क्षेत्रहरूमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनु पूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने लगायत नीतिमा उल्लेख छ ।

    त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्त्वपूर्ण स्थानहरू अङ्कित गरी प्रभावकारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।

    उनले निर्वाचनको एक महिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए । त्यस्तैगरि क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एक दिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरूमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

    त्यस्तै पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सङ्कलनमा सहयोग र विपद् व्यवस्थापनमा  गरेका कामका बारेमा समेत जानकारी गराइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend