काठमाडौं । यू–१९ एसिया कपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा लगातार विकेट गुमाउँदा नेपाली युवा टोली गहिरो दबाबमा परेको छ। यूएईको दि सेभेन्स स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालले सुरुआती लय जोगाउन नसक्दा स्थिति जटिल बनेको हो।
नेपालले ११ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा मात्र ६० रन बनाएको छ। पावर प्लेमा २ विकेट गुमाएर ५८ रन जोडेको नेपालले त्यसपछि थप ६ रन बनाउँदा दुई महत्वपूर्ण विकेट गुमायो, जसले इनिङ्सको गति पूर्ण रूपमा रोकेको छ।
ओपनर साहिल पटेल १८ रन बनाउँदै सातौँ ओभरको चौथो बलमा साद इस्लामको बलमा रिफाट वेगको हातबाट क्याच आउट भए। त्यसपछि निरज कुमार यादव १४ रनमा विकेटकिपरको हातबाट क्याच आउट हुँदा वंश क्षेत्री ४ रनमै सहरिया अल–अमिनको बलमा बोल्ड भए। निश्चल क्षेत्री त खाता नै नखोली गोल्डेन डक आउट हुन पुगे।
हाल क्रिजमा सिवरिन श्रेष्ठ ४ रनमा नटआउट छन्। लगातार विकेट पतनसँगै नेपाल दबाबमा परेको छ र ठूलो स्कोरको सम्भावना कमजोर देखिएको छ।
सेमिफाइनलमा स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने अवस्थामा रहेको नेपाली टोलीका लागि यो खेल निर्णायक छ। पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा छ।
बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै आत्मविश्वासका साथ मैदानमा उत्रिएको हो। पहिलो हारसँगै समूह ‘बी’को अंक तालिकाको पुछारमा रहेको नेपालका लागि आजको कमजोर सुरुआत थप चिन्ताजनक बनेको छ।

