काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा पौने ७ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। यो वृद्धिले मुलुकको विदेशी मुद्रा सञ्चिति र समग्र अर्थतन्त्रलाई सकारात्मक सन्देश दिएको छ।
राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो वृद्धि ८.२ प्रतिशतमा सीमित थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। साथै, कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ जना पुगेको छ।

