काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा पछाडि रहेको छ ।
राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन मंसिरसम्मको लक्ष्यको ७८.७४ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।
त्यसअनुसार मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य तय गरिएको थियो । तर हालसम्मको वास्तविक सङ्कलन लक्ष्यभन्दा करिब १ खर्ब १० अर्ब रुपैयाँ कम छ ।
मंसिर महिनाका लागि मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब २७ करोड रुपैयाँ उठेको छ । यो मासिक लक्ष्यको ८४.३१ प्रतिशत हो । मंसिर २९ गते एकै दिनमा ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रणालीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ सँग तुलना गर्दा पनि चालु वर्षको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ । २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । सो वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
त्यस अवधिमा मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको तथ्यांकमा उल्लेख छ ।

