काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक र नेपालका लागि युरोपेली संघ (ईयू) का राजदुतबीच भेटवार्ता भएको छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकज्यू मुकेश डंगोल र नेपालका लागि ईयूका महामहिम राजदूत भेरिनिक लोरेन्जोबीच भेटवार्ता भएको हो ।
ईयूले नेपाली वायुसेवा कम्पनीलाई १२ वर्षदेखि कालोसूचीमा राख्दै गर्दा उक्त भेटलाई कालोसूचीबाट हटाउने संकेतका रुपमा हेरिएको छ । सो भेटमा नेपालको हवाई सुरक्षाल, ईयुसँगको सहयोग गायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाईएको छ ।
लामो समयदेखि ईयूका प्रतिनिधिसँग कुनै भेटघाट र छलफल हुन नसेकेकोमा बिहीबारको छलफलले कालोसूचीबाट हटाउने आशा रहेको क्यानले जनाएको छ ।
ईयूले नेपाली वायुसेवालाई १२ वर्षदेखि लगाएको निषेध कायमै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमन गर्ने गरी दर्ता भएका हेलिकोप्टर र वायुसेवाका २० वटा कम्पनीलाई प्रतिबन्ध लगाउने निर्णयलाई ईयूले निरन्तरता दिदैँ आएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१३ मा नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भन्दै गम्भीर सुरक्षा चासो प्रकट गर्दै कालोसूचीमा राखेको थियो । आइकाओकै प्रतिवेदनलाई आधार बनाएर ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । ईयूले कालोसूचीमा राखेपछि नेपालका वायुसेवा कम्पनीलाई युरोपेली मुलुकमा उडान प्रतिबन्ध लाग्यो । सन् २०१७ मा आइकाओले कालोसूचीबाट हटाए पनि ईयूले भने निरन्तरता दिदैँ आएको छ ।

