काठमाडौँ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि निरन्तर भएको आक्रमणले कर्मचारीमा त्रासपूर्ण वातावरण सिर्जना भएको नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले जनाएको छ ।
पछिल्लो समय ज्यती विकाश बैंकका कर्मचारीमाथि ऋणीले आक्रमण गरेको घटनाले बैंकका कर्मचारीमाथि सुरक्षाको ग्यारेण्टी नभएको भन्दै फियोनले सरकारले कर्मचारीको सुरक्षाको पूर्ण ग्यारेन्टी लिनुपर्नेमा जोड दिएको हो ।
‘कानून विपरीतको अराजक घटनाहरु हुन नदिन तथा बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरु एवं त्यहाँ कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न यस संघले नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरुमा पुनः जोडदार माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।
यस्तै, फियनले बैंक, लघुुवित्त तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु माथि आक्रमण गर्ने र ति संस्थाको सम्पत्तिमा क्षति पुर्याउने समूह तथा व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याई कारवाही गर्न फियोनले आग्रह गरेको छ ।
फियनले यस्ता घटना पटक पटक दोहोरीए सम्पूर्ण कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमहरुका साथ सडकमा आउन बाध्य हुने चेतावनी दिएको छ ।


