२०८३, आश्विन २० गते

images

गोरखा–लमजुङ सर्किट ट्रेल विकासमा पाँच पालिकाको पहल

गोरखा–लमजुङ सर्किट ट्रेल विकासमा पाँच पालिकाको पहल

आइतवार, पौष ६ २०८२०१:१३
आइतवार, पौष ६ २०८२०१:१३
  • images

    काठमाडौं । गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाले संयुक्त पहल सुरु गरेका छन्।

    सो ट्रेलअन्तर्गत गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका पर्यटन पदमार्गको दिगो विकास र प्रवर्द्धनमा जुटेका हुन्। पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो योजना तयार पार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

    पाँचवटै पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले एकजुट गरेको हो। गत बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको तीनदिने गोष्ठीमा सम्बन्धित पालिकाका प्रतिनिधिहरू सहभागी भए।

    बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृङ्खला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास व्यक्त गरिएको छ। स्थानीय पालिकाहरूले यसबाट समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन हुने र पर्यटन हबको रूपमा क्षेत्रलाई विकास गर्न सकिने अपेक्षा राखेका छन्।

    गोष्ठीमा पुराना पदमार्ग, गोठालो बाटो, सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य पनि तय गरिएको थियो।

    अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलका अनुसार तालिममा पाँचै गाउँपालिकाका उपप्रमुख र सम्बन्धित शाखाका प्रमुखहरूले सहभागिता जनाएका थिए। साथै टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, तालिम विभाग सहसंयोजक अम्बिरबहादुर गुरुङ, पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, परियोजना संयोजक युवराज लामा, प्रशिक्षक डा. चेतनाथ कँडेल र कृष्ण गौतमलगायत प्रमुख प्रशिक्षकहरूले तालिम सञ्चालन गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend