२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • अस्तित्वमै नभएको विद्यालयको नाममा भ्रष्टाचार :...

अस्तित्वमै नभएको विद्यालयको नाममा भ्रष्टाचार : चार जना दोषी ठहर

अस्तित्वमै नभएको विद्यालयको नाममा भ्रष्टाचार : चार जना दोषी ठहर

सोमवार, पौष ७ २०८२०८:३७
सोमवार, पौष ७ २०८२०८:३७
  • images

    काठमाडौं । डोल्पा जिल्लामा अस्तित्वमै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले चार जनालाई दोषी ठहर गरेको छ।

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले डोल्पा जिल्लामा दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण गरिएको भनी झुट्टा कागजात तयार गरी मिलेमतोमा भ्रष्टाचार भएको ठहर गरेको हो।अदालतले तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका कार्यालय प्रमुख रविचन्द्र पञ्जीयार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई जनही एक लाख ९० हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणका नाममा भ्रष्टाचार भएको दाबी गर्दै २०८२ असार १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले फैसलाको पूर्ण पाठ तयार हुन समय लाग्ने भन्दै संक्षिप्त फैसला सार्वजनिक गरेको जनाएको छ।

    अदालतका अनुसार उपभोक्ता समिति गठन गरी डोल्पा जिल्लाको साविक दुनै गाउँ विकास समिति वडा नम्बर २ र ३ मा दुर्गा प्राथमिक विद्यालय पिप्लाको दुई कोठे भवन निर्माण भएको भनी शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिइएको पाइएको छ।

    प्रतिवादीहरूले अदालतमा सो वडामा दुर्गा प्राथमिक विद्यालय नामको विद्यालय नै नभएको र उक्त रकम लालीगुराँस आधारभूत विद्यालयको भवन निर्माणमा खर्च भएको जिकिर गरेका थिए। तर अदालतले उक्त विद्यालयबाट प्राप्त तत्कालीन विद्यालय व्यवस्थापन समितिको बैठक पुस्तिकामा भवन निर्माणसम्बन्धी कुनै निर्णय नभएको उल्लेख गरेको छ। अदालतले अस्तित्वमै नभएको विद्यालयको नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी मिलेमतोमा सरकारी रकम हिनामिना गरिएको ठहर गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend