काठमाडौँ । विशेष अदालतले कपिलवस्तुको मायादेवी गाउँपालिकाको भ्रष्टाचार मुद्दामा तीन जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले तत्कालीन लेखापाल तुल्सीराम पौडेल, लेखा सहायक गिरीराज गौतम र लेखा अधिकृत प्रकाश गौतमलाई साधारण तारेखमा छोड्ने आदेश सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका लागि लिइएका विभिन्न शीर्षकका पेस्की रकममध्ये कुल ४६ लाख ७ हजार ३ सय रुपैयाँ बेरुजु भएको र हिनामिनाको आरोप लगाउँदै तत्कालीन लेखापालसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको थियो।
आयोगले लेखा अधिकृत प्रकाश गौतमविरुद्ध १५ लाख ६० हजार बिगो र जरिवाना, तत्कालीन लेखापाल तुल्सीराम पौडेलसँग १९ लाख १७ हजार ३ सय रुपैयाँ बिगो, जरिवाना र कैद सजाय, र लेखा सहायक गिरीराज गौतमसँग १४ लाख १० हजार बिगो दाबी सहित मुद्दा दर्ता गरेको थियो।

