काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बैंक तथा वित्तीय संस्था अहिले ग्रामीण क्षेत्रसम्म फैलिँदै आर्थिक समृद्धि र तल्लो तहका व्यक्तिलाई माथि उठाउन काम गरिरहेको बताएका छन्।
सोमबार आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा बोल्दै उनले भने, “बैंकहरूले मेची–महाकालीसम्म प्रत्येक गाउँपालिकामा शाखा खोलेका छन्। वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। बैंकबाट ऋण लिएर कति घरधुरी समृद्ध भएका छन्, त्यो प्रायः ओझेलमा छ। तर हुलदंगा मच्चाउनेका कुरा बढी चर्चामा आउँछन्।”
कोइरालाले बैंक तथा वित्तीय संस्थाले गरेका सकारात्मक कार्यहरू प्रायः नदेखिनु र नकारात्मक घटनाहरूको चर्चा बढी हुनु अप्रत्याशित भएको बताए। उनले बैंकलाई निशाना बनाउने प्रयासमा सामाजिक र राजनीतिक रूपले धेरै गलत सन्देश फैलिरहेको पनि बताए।
कार्यक्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले भने, “राष्ट्र बैंकको नियमन र नियन्त्रणका कारण बैंकहरू अप्ठ्यारो स्थितिमा छन्। गुणस्तरीयताका हिसाबले नेपालका बैंकहरू दक्षिण एशियामा माथि छन्, तर अहिले नियन्त्रण थोरै बढी देखिन्छ।”
कार्कीले बैंकिङ क्षेत्रमा ‘बेसिक रेगुलेसन, मोर सुपरभिजन’ अवधारणा अघि सार्दै प्रथम श्रेणीका बैंकहरूलाई ब्याजदर, सेवा शुल्क र आन्तरिक व्यवस्थापनमा पूर्ण स्व–नियमनको अधिकार दिन सिफारिस गरिएको जानकारी दिए।
उनी भन्छन्, “उच्च तरलता भएको बैंकिङ क्षेत्रलाई विद्युत प्रसारण, सडक र पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराएर परिचालन गर्न सकिन्छ। साथै, नेपाललाई वित्तीय शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट जोगाउन सम्पत्ति शुद्धीकरण ऐन र सेन्ट्रल केवाइसी प्रणाली कार्यान्वयन गर्न आवश्यक छ। नगद कारोबारको सीमा १० लाखबाट घटाएर १ लाखमा झार्ने सुझाव पनि प्रस्तुत गरिएको छ।”

