काठमाडौं । आगामी सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जारी विज्ञप्तिमा आगामी जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालमा प्रदर्शन गरिने जानकारी दिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले ट्रफी टुरसँग सम्बन्धित सम्पूर्ण विवरण, तालिका र स्थानबारे जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने बताए।
आईसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ। नेपाल यस प्रतियोगितामा सहभागी हुँदै फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
नेपाल समूह बी मा बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग रहेको छ। समूह चरणका खेल फेब्रुअरी ८, १२, १५ र १७ मा निर्धारित छन्। हरेक समूहको शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् भने सुपर ८ बाट चार टोली सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल मार्च ८ मा हुनेछ।

