२०८३, आश्विन २० गते

images

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जामा बागमती प्रदेशको दबदबा

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जामा बागमती प्रदेशको दबदबा

शुक्रवार, पौष १८ २०८२०२:४०
शुक्रवार, पौष १८ २०८२०२:४०
  • images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सेदारी सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७८/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट परिचालित कुल निक्षेपमा बागमती प्रदेशको अंश ६५.८ प्रतिशत रहेको छ भने कुल कर्जामा ५९.५ प्रतिशत हिस्सा रहेको छ।

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेका छन्। यसमध्ये बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ निक्षेप सङ्कलन भएको छ। अन्य प्रदेशमध्ये कोशी प्रदेशबाट ५ खर्ब ५३ अर्ब ३ करोड ७९ लाख, मधेस प्रदेशबाट ४ खर्ब ७ अर्ब ७३ करोड ७२ लाख, गण्डकी प्रदेशबाट ६ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णाली प्रदेशबाट ९१ अर्ब ९ करोड र सुदूरपश्चिम प्रदेशबाट १ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप सङ्कलन भएको छ।

    कर्जा प्रवाहमा पनि बागमती प्रदेश अग्रस्थानमा रहेको छ। कुल ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाहमध्ये बागमती प्रदेशमा मात्र ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ लगानी भएको छ। अन्य प्रदेशमा कोशी प्रदेशमा ६ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेस प्रदेशमा ४ खर्ब ९५ अर्ब ८६ करोड, गण्डकी प्रदेशमा ३ खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनी प्रदेशमा ५ खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णाली प्रदेशमा ६२ अर्ब १२ करोड तथा सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५७ अर्ब ४० करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

    कृषि क्षेत्रमा २०८२ असार मसान्तसम्म प्रवाहित कर्जा ३ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.०४ प्रतिशतले घटेको हो। कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन तथा पशु बधशालामा ६१ अर्ब १९ करोड रुपैयाँ प्रवाह भएको छ भने सबैभन्दा कम सुर्ती शीर्षकमा २० करोड ६५ लाख रुपैयाँ कर्जा गएको छ। कृषि कर्जामा बागमती प्रदेशको हिस्सा ३६.२ प्रतिशत रहेको छ भने कोशी १६.७, मधेस १८.७, गण्डकी ७.१, लुम्बिनी १५, कर्णाली १.५ र सुदूरपश्चिम ४.७ प्रतिशत रहेको छ।

    औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यसमध्ये गैरखाद्य वस्तु उत्पादन उद्योगमा ३५.२७ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेयपदार्थ उद्योगमा २१.८५ प्रतिशत र निर्माण उद्योगमा ११.७ प्रतिशत कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जामा बागमती प्रदेशको हिस्सा ७१.३ प्रतिशत रहेको छ भने कोशी ९.५, लुम्बिनी ८.३, मधेस ७.५, गण्डकी १.६, कर्णाली ०.२ र सुदूरपश्चिम १.६ प्रतिशत रहेको छ।

    त्यसैगरी, सेवा क्षेत्रमा गत आर्थिक वर्षको अन्त्यसम्म कर्जा प्रवाह २१ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापारमा सबैभन्दा बढी ४७.३ प्रतिशत कर्जा प्रवाह भएको छ। यसपछि रियल स्टेट, पर्यटन, वित्त तथा बीमा, शिक्षा, यातायात, भण्डारण तथा सञ्चार लगायतका क्षेत्रमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ। सेवा क्षेत्रमा पनि बागमती प्रदेशको हिस्सेदारी ५९.५ प्रतिशत रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend