काठमाडौं । साढे तीन दशकदेखि नेपाली औषधि उद्योगमा अग्रणी रहेको देउराली जनता फर्मास्युटिकल्सले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो आम्दानी गत वर्षको तुलनामा १६.१६ % वृद्धि हो, जुन करिब ३२ करोड ७० लाख रुपैयाँ बढी हो।
कम्पनीले सन् १९९१ मा स्थापना भएदेखि मुटुरोग, मधुमेह, स्त्री–बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी, हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने औषधि उत्पादन गर्दै आएको छ। हाल कम्पनीले २५० भन्दा बढी प्रकारका औषधि बजारमा उपलब्ध गराएको छ।
विगत वर्षहरूको आम्दानीको विवरण हेर्दा कम्पनीले २०१८ मा १ अर्ब ४० करोड, २०१९ मा १ अर्ब ५३ करोड, २०२० मा १ अर्ब १९ करोड, २०२१ मा १ अर्ब ४६ करोड, २०२२ मा १ अर्ब ७० करोड र २०२३ मा १ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
सन् २०२५ जुलाईसम्मको तथ्याङ्कअनुसार, कम्पनीको ७१ प्रतिशत इक्विटी सेयर कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ। बाँकी सेयर उनका परिवारका सदस्य तथा अन्य लगानीकर्ताको नाममा रहेको छ।
कम्पनीले दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाको आधारमा नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बलियो बनाएको छ। देशभर २०० भन्दा बढी वितरकसँग सहकार्य गर्दै कम्पनीले बजार विस्तार गरिरहेको छ।
कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार, “मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन। गुणस्तरीय औषधि उत्पादन हाम्रो डीएनएमा छ, जसले हाम्रो अग्रणी स्थान कायम राख्न मद्दत गरेको छ।”
त्यसैगरी, कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण क्रमशः घटाउँदै लगेको देखिन्छ। हाल उद्योगले १ अर्ब ६ करोड १० लाख रुपैयाँ ऋण लिएको छ, जुन सन् २०२४ को १ अर्ब ११ करोड ६० लाख र सन् २०२३ को १ अर्ब १७ करोड ५६ लाख रुपैयाँको तुलनामा कम हो।

