काठमाडौं । विभागीय टोली एपीएफ क्लबले ३३औँ त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो। उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको लाङ्दीदेवी एफसीले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ।
गत संस्करणमा एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक भने एपीएफले निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्दै सहज जित दर्ता गर्यो। करिब सात वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा टोलीले उपाधि चुम्न सफल भयो।
एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै प्रदीप लामाले दोस्रो गोल गर्दै २–० को जित सुनिश्चित गरे।
नाल्माको लाङ्दीदेवी एफसी ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। एपीएफ भने सेमिफाइनलमा लमजुङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा पुगेको थियो।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ युवराज खड्का घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
व्यक्तिगत विधातर्फ पनि एपीएफ क्लबले वर्चस्व कायम गर्यो। सर्वाधिक गोलकर्तामा प्रदीप लामा र समीर थोकर संयुक्त रूपमा घोषित भए। दुवैले प्रतियोगितामा समान ३–३ गोल गरेका थिए। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री बने। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले समान २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

