काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१र/८२ का लागि कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) र ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
सभामा २०८२ साल आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।
बैंकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म समग्र वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको जनाएको छ। आधार दर अघिल्लो वर्षको ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। सो अवधिमा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।
साधारण सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरी र ग्रोइङ प्रा।लि।को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको छ।

