काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातार चिसो बढ्दै गएको छ। न्यूनतम तापक्रम घट्दै जाँदा बिहान र बेलुका जनजीवन थप प्रभावित हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५स्४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस मापन गरिएको छ। यो प्रारम्भिक मापन मात्र भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौँको न्यूनतम तापक्रम बिहान ८स्४५ बजे पुनः मापन गरिन्छ। सो समयमा तापक्रम थप घट्न सक्ने अनुमान गरिएको छ।
यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको थियो भने आइतबार ४ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै, सोमबार अधिकतम तापक्रम १५।३ डिग्री सेल्सियस र आइतबार १५।७ डिग्री सेल्सियस रहेको थियो।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८स्४५ बजे र अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ।
मौसम चिसिँदै गएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

