काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १८ देखि नेपालमा सुरु हुँदैछ । घरेलु मैदानमा हुने यस ऐतिहासिक प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम नेपाली टोली घोषणा गरेको छ ।
पहिलोपटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोली विश्वकपमा स्थान बनाउने लक्ष्यसहित तयारीमा जुटेको छ । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिएको छ भने अलराउन्डरको बाहुल्यता रहेको छ ।
नेपाल समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग प्रतिस्पर्धा गर्नेछ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालका चारवटै समूह चरणका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।
नेपालले माघ ४ गते थाइल्यान्डसँग पहिलो खेल खेल्नेछ । त्यसपछि माघ ८ गते नेदरल्यान्ड्स, माघ १० गते जिम्बाबे र माघ १२ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ । समूह चरणबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् भने अन्तिम चरणबाट शीर्ष चार टोलीले महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तान रुबिना क्षेत्री र पहिलो पुस्ताकी खेलाडी सीता राना मगरजस्ता अनुभवी खेलाडी समावेश छन् । साथै यू–१९ विश्वकप खेलेका पूजा महतो, रिया शर्मा र रचना चौधरीजस्ता युवा खेलाडीले टोलीलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
नेपाली महिला टोली (१५ सदस्यीय)
इन्दु बर्मा (कप्तान),पूजा महतो (उपकप्तान),रुबिना क्षेत्री,सीता राना मगर,काजल श्रेष्ठ,बिन्दु रावल,कविता कुँवर,सम्झना खड्का
कविता जोशी,राजमती ऐरी,मनीषा उपाध्याय,रिया शर्मा,रचना चौधरी,रोमा थापा र सोमु विष्ट

